लन्डन, अक्टोबर २५, २०२५ , नेपाली संस्कृतिको महत्वपूर्ण पर्व तिहार (दीपावली)को अवसरमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डन (SERTD) द्वारा आयोजना गरिएको वार्षिक देउसी–भैलो कार्यक्रम यस वर्ष पनि उत्साहपूर्वक सम्पन्न भएको छ ।
तीन दिनसम्म (१९, २१ र २२ अक्टोबर २०२५) चलेको यो कार्यक्रम समाजको आफ्नै भवन लन्डनमा र विभिन्न सदस्यहरूको निवासमा सम्पन्न भएको थियो । नेपाली परम्परा, भातृत्व र सांस्कृतिक एकतालाई झल्काउने देउसी–भैलो कार्यक्रमले प्रवासी नेपाली समुदायमा हर्षोल्लास र एकताको सन्देश फैलाएको छ ।
कार्यक्रमको सुरुवात अध्यक्ष शिवराम गुरुङ बी.ई.यम. उपाध्यक्ष/आमा प्रमुख मीना गुरुङ र संस्थापक आमा प्रमुख मायारानी गुरुङले संयुक्त रूपमा लक्ष्मीपूजा र दीप प्रज्वलन गरी गर्नुभएको थियो। यसले तिहारको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई झनै उजागर गर्यो ।

सचिव कमल गुरुङले अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको थियो। त्यसपछि उपाध्यक्ष मीना गुरुङ र कोषाध्यक्ष दिकपाल गुरुङले देउसी–भैलोको ऐतिहासिक पृष्ठभूमि र यसको सामाजिक–सांस्कृतिक महत्त्वबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमका क्रममा गायन, नृत्य, भट्याउने र सांस्कृतिक प्रस्तुति हुँदै देउसी–भैलोको रौनकले सम्पूर्ण सहभागीलाई मोहित बनाएको थियो। विशेष गरी श्रीमती धनु घलेको गायन प्रस्तुति र अध्यक्ष शिवराम गुरुङको भट्याउने शैलीले कार्यक्रमलाई थप आकर्षक बनायो। नृत्य प्रस्तुतिमा उमा गुरुङ, नन्दराज गुरुङ, सिरिमाया गुरुङ, कमला गुरुङ, विष्णु गुरुङ, मनिता गुरुङलगायत सदस्यहरूको योगदान उल्लेखनीय रह्यो ।

कोषाध्यक्ष दिकपाल गुरुङले प्रत्यक्ष र अनलाइन माध्यमबाट संकलित सहयोग रकमको विवरण प्रस्तुत गर्दै £४,००० भन्दा बढी रकम संकलन भएको जानकारी दिनुभयो। उहाँले सबै दाताहरू र सहयोगी सदस्यप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
यस वर्षको देउसी–भैलो कार्यक्रम उपाध्यक्ष मीना गुरुङ र कोषाध्यक्ष दिकपाल गुरुङको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको हो। कार्यक्रममा समाजका अध्यक्ष, संस्थापक अध्यक्ष, पूर्व अध्यक्षज्युहरु, सल्लाहकारज्युहरु, पूर्व आमा प्रमुख, पदाधिकारी र सम्पूर्ण सदस्यहरूको सक्रिय उपस्थिति रह्यो।
संस्थाका सचिव कमल गुरुङका अनुसार,

“हाम्रो मुख्य उद्देश्य दक्षिणा संकलन होइन, नेपाली परम्परा, संस्कृति र तिहारको एकता भावना जोगाउने हो। सबैको माया र सहभागिताले यो कार्यक्रमलाई झनै अर्थपूर्ण बनायो ।”
यस वर्ष केही सदस्यहरू नेपाल वा अन्य कारणले अनुपस्थित भए पनि, उहाँहरूको सद्भाव र आत्मीयता समुदायमा महसुस गरिएको आयोजक समितिले जनाएको छ।
कार्यक्रमको अन्त्यमा सबै सहभागीप्रति मुरी–मुरी धन्यवाद व्यक्त गर्दै आगामी वर्ष अझ भव्य रूपमा कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

कमल गुरुङ
सचिव
दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डन