लन्डन। साउथ इष्ट रिजनल तमुधिं लन्डनको आयोजनामा लन्डन प्लमस्टिडमा तमुहरुको विशेष पर्व ल्होछार मनाइएको छ ।
स्थानीय एशियन कम्युनिटी सेन्टरमा शुक्रबार साँझ विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न कार्यक्रममा सयौँको संख्यामा बेलायतवासी तमु एवम् गैरतमु नेपालीहरुको सहभागिता रह्यो ।
साउथ इष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष ह्यारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रमुख अतिथि लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले उद्घाटन गरेकी थिइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपनियोग प्रमुख खनालले ल्होछारको शुभकामना व्यक्त गरिन्। मौलिक नेपाली चाडपर्वहरुले एक आपसमा एकता र सद्भाव बढाउन भूमिका खेल्ने उल्लेख गर्दै उनले प्रवासमा यस्ता पर्वको झनै धेरै महत्व हुने धारणा राखिन्।
साउथ इष्ट रिजनल तमुधिंले यस्तै कार्यक्रमहरुमार्फत् बेलायतमा नेपाली संस्कृति प्रवर्द्धनका साथै विभिन्न समयमा सामाजिक क्षेत्रमा पनि उल्लेख्य कार्य गर्दै आएकोमा खनालले प्रशंसा गरिन्।
कार्यक्रमका विशेष अतिथि तमुधिं यूकेका नवनिर्वाचित अध्यक्ष हरि गुरुङले साउथ इष्ट रिजनल तमुधिंले पुर्याउँदै आएको योगदानका लागि आभार प्रकट गरे।
विगतमा जस्तै आगामी दिनहरुमा पनि तमुधिं यूके र साउथ इष्टबीच निकट सहकार्य रहंदै जाने विश्वास उनले व्यक्त गरे।
विशेष अतिथि रोयल बरो अफ ग्रीनवीचका काउन्सिलर जीत रानाभाटले मौलिक नेपाली र संस्कृतिलाई प्रवर्द्धन गर्ने सांस्कृतिक कार्यक्रमहरुलाई स्थानीय बरोबाट प्रोत्साहन र सहयोग गर्दै जाने प्रतिवद्धता गरे।
डायमन्ड बुद्धिष्ट सेन्टरका अध्यक्ष योगेश गुरुङले पनि ल्होछार शुभकामना दिंदै आफ्नो संस्था र तमुधिंबीचको आपसी सहकार्य निरन्तर रहने उल्लेख गरे।
कार्यक्रमका सभापति एवम् साउथ इष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष ह्यारी गुरुङले ल्होछार कार्यक्रम सफल पार्न सहयोग गर्ने र सहभागी हुने सबैप्रति आभार प्रकट गरे।
तमुहरुको ल्होछार पर्वलाई स्थानीय सम्पूर्ण नेपालीहरुबीच एकता र भाइचारा सुदृढ पार्ने अवसरका रुपमा सदुपयोग गर्ने कोशिश् गरिएको उनले सुनाए।
कार्यक्रममा चर्चित लोकदोहोरी गायिका भूमिका गिरीले विशेष सांगीतिक प्रस्तुति गरेकी थिइन्। त्यस्तै, स्थानीय कलाकारहरु शेखर घर्ती मगर र शशी गुरुङको नृत्य, याम गुरुङको गीतसहित आमा समूह र अन्य सदस्यहरुका गीत, नृत्य पनि प्रस्तुत गरिएको थियो। डिजे हेम विष्टले पनि विभिन्न गीतहरु बजाएर नचाएका थिए।
महासचिव सूर्य गुरुङले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष प्रेम गुरुङले स्वागत मन्तव्य दिएका थिए ।
सो अवसरमा साउथ इष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष ह्यारी गुरुङ, प्रमुख सल्लाहकार श्रीचन्द्र गुरुङ र प्रमुख अतिथि उपनियोग प्रमुख रोशन खनालले संस्थामा योगदान गर्ने विभिन्न व्यक्तित्व, सहयोगी एवम् कलाकारहरुलाई सम्मान तथा मायाको चिनो वितरण गरेका थिए ।