लण्डन, १७ सेप्टेम्बर २०२६, बिहीबार ।
हालै नेपालमा आएको विनाशकारी बाढी तथा रसुवा–भोटेकोशी क्षेत्रमा परेको प्राकृतिक विपद्बाट प्रभावित तथा पीडित परिवारहरूको सहयोगका लागि £५,२७२.०० (पाँच हजार दुई सय बहत्तर पाउन्ड) रकम संकलन गर्न सफल भएको जानकारी गराउन पाउँदा दक्षिणपूर्व क्षेत्रीय तमुधी लण्डन (SERTD, London) परिवार अत्यन्त खुसी तथा गौरवान्वित भएको छ ।
वर्तमान अध्यक्ष शिव राम गुरुङ बि.ई.यम.ज्यू तथा संस्थापक प्रमुख सल्लाहकार एवं सोलार फर्म नेपालका वर्तमान अध्यक्ष श्री मोहन गुरुङज्यूले यसरी मन खोलेर सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।
त्यसैगरी, तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङज्यूले केन्द्रलाई सहयोग प्रदान गर्नुभएकोमा दक्षिणपूर्व क्षेत्रीय तमुधीं लण्डनप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
सोही संकलित रकम हस्तान्तरणका लागि १७ सेप्टेम्बर २०२६, बिहीबार दक्षिणपूर्व क्षेत्रीय तमुधीं लण्डनद्वारा समाजकै आफ्नै भवन, अबिउड, लण्डनमा अध्यक्ष शिव राम गुरुङ बिईयमज्यूले आफ्नो बाहुलीबाट संकलित £५,२७२.०० (पाँच हजार दुई सय बहत्तर पाउण्ड) रकम तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङज्यूलाई हस्तान्तरण गर्नुभयो ।
औपचारिक कार्यक्रमको सञ्चालन सचिव कमल गुरुङले गर्नुभएको थियो ।
उक्त रकम तमुधीं यूकेमार्फत नेपाल सरकारलाई छिट्टै हस्तान्तरण गरिने जानकारी गराइएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा तमुधी यूके आमा समूहकी अध्यक्ष कमला देवी गुरुङज्यू, गोर्खा मिडियाका प्रोपाइटर मिलन गुरुङज्यू, दक्षिणपूर्व क्षेत्रीय तमुधी लण्डनका संस्थापक अध्यक्ष चन्द्रमान गुरुङज्यू तथा उहाँकी धर्मपत्नी बबिता गुरुङज्यू, संस्थापक प्रमुख सल्लाहकार मोहन गुरुङज्यू, कोषाध्यक्ष दिकपाल गुरुङज्यू, निवर्तमान उपाध्यक्ष तथा आमा प्रमुख बिन्दु गुरुङज्यू लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी, ११औँ कार्यसमितिका सदस्य खड्का बहादुर गुरुङज्यू तथा उहाँकी धर्मपत्नी पूर्ण कुमारी गुरुङज्यू, नन्दराज गुरुङज्यू, DBC UK का संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार सुमल कुमार गुरुङज्यू तथा उहाँकी धर्मपत्नी DBC UK आमा प्रमुख तथा वरिष्ठ कबिकार सारा देवी गुरुङज्यू, BNC का संस्थापक अध्यक्ष, वर्तमान बिजीनेसाका अध्यक्ष तथा सल्लाहकार केशबहादुर गुरुङज्यू, नेपालबाट बेलायत भ्रमणमा आउनुभएका स्वस्तिक ग्रुपका अध्यक्ष तथा तमु बौद्ध सेवा समितिका सचिव लक्ष्मी गुरुङज्यूलगायतको उपस्थिति रहेको थियो ।
सन् २००२ मा स्थापना भएको दक्षिणपूर्व क्षेत्रीय तमुधी लण्डनले स्थापना कालदेखि नै धर्म, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनसँगै विभिन्न सामाजिक तथा परोपकारी कार्यहरू गर्दै आइरहेको छ ।

यसै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै गत २६ अगस्टमा नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारहरूको सहयोगका लागि संस्थाले आफ्ना सदस्यहरू तथा शुभेच्छुक महानुभावहरूसमक्ष सहयोगको आह्वान गरेको थियो ।
यस अभियानमा बेलायतमा रहेका धेरै महानुभावहरू जोडिनुभएको र उहाँहरूले आफ्नो क्षमता तथा इच्छाअनुसार उदारतापूर्वक सहयोग गर्नुभएकोमा दक्षिणपूर्व क्षेत्रीय तमुधी लण्डन परिवार उहाँहरू सबैप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।
संकलित सहयोग रकमलाई कसरी प्रभावकारी रूपमा वास्तविक पीडित परिवारहरूसम्म पुर्याउने भन्ने विषयमा संस्थाभित्र गम्भीर छलफलपछि, संस्थाको अभिभावक संस्था केन्द्र तमुधी यूकेमार्फत उक्त सहयोग रकम सम्बन्धित पीडितहरूसम्म पुर्याउने निर्णय गरिएको हो ।
सोही निर्णयअनुसार आज संकलित रकम केन्द्र तमुधी यूकेलाई हस्तान्तरण गर्न पाउँदा संस्था अत्यन्त खुसी भएको छ। आगामी दिनहरूमा पनि यस्तै सामाजिक तथा मानवीय कार्यहरूमा केन्द्रसँग सहकार्य गर्दै निरन्तर सहयोग गर्न पाऊँ भन्ने अपेक्षा दक्षिणपूर्व क्षेत्रीय तमुधी लण्डनले राखेको छ ।
यस विनाशकारी विपद्मा आफ्नो अमूल्य जीवन गुमाउनुहुने सम्पूर्ण दिवंगत आत्माहरूप्रति दक्षिणपूर्व क्षेत्रीय तमुधी लण्डन परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै चिरशान्तिको कामना गर्दछ। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।
यस कठिन तथा विपद्को समयमा सहयोग, सद्भाव र मानवीय भावना प्रदर्शन गर्नुहुने सम्पूर्ण सदस्यहरू, शुभेच्छुक तथा सहयोगी महानुभावहरूप्रति दक्षिणपूर्व क्षेत्रीय तमुधी लण्डन परिवार पुनः हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ ।