लण्डन । दक्षिणपूर्व क्षेत्रीय तमुधिँ लण्डन (SERTD) को २४औँ आजीवन सदस्य रात्री भोज तथा भेटघाट कार्यक्रम गत शनिबार, २० सेप्टेम्बरका दिन भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष शिवराम गुरुङ बीईएमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, पूर्व तथा निवर्तमान अध्यक्षहरू, संस्थापक प्रमुख सल्लाहकार, आमा समूहका पूर्व तथा वर्तमान पदाधिकारी, सल्लाहकार, एघारौँ कार्यसमितिका पदाधिकारी तथा आजीवन सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
औपचारिक कार्यक्रमको सञ्चालन सचिव कमल गुरुङले गरेका थिए भने सांस्कृतिक कार्यक्रमको सञ्चालन अंशु (असु) गुरुङले गरेकी थिइन् ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा डीबीसीका संस्थापक अध्यक्ष एवं वरिष्ठ साहित्यकार सुमल कुमार गुरुङ, रोयल बरो अफ ग्रीनविचका काउन्सिलर तथा पूर्व मेयर जित राना भाट, रोयल बरो अफ ग्रीनविचकी नेपाली मूलकी पहिलो काउन्सिलर गौमाया गुरुङ, ज्येष्ठ नागरिक रत्न बहादुर गुरुङ, तमु मै ताँ’का प्रस्तोता मिमकाजी गुरुङ तथा स्याङ्जा समाज यूकेकी आमा प्रमुख एवं समाजसेवी पार्वती गुरुङ रहेका थिए ।

त्यसैगरी संस्थामा नयाँ आजीवन सदस्यका रूपमा आबद्ध भएका सदस्यहरूलाई स्वागत गर्दै प्रमाणपत्र वितरण समेत गरिएको थियो। नयाँ सदस्यहरूलाई संस्थाको गतिविधि र सामाजिक एकतामा सक्रिय सहभागिताका लागि शुभकामना दिइएको थियो ।
कार्यक्रमलाई सफल बनाउन कार्यक्रम संयोजक तथा उपाध्यक्ष एवं आमा प्रमुख मीना गुरुङको संयोजनमा विभिन्न चरणमा व्यवस्थापन गरिएको थियो। सचिव कमल गुरुङले सम्मानपत्र, प्रमाणपत्र तथा कार्यक्रमसम्बन्धी सामग्रीको डिजाइन तथा प्रिन्टिङ व्यवस्थापन गरेका थिए भने कोषाध्यक्ष दिकपाल गुरुङ लगायतले आर्थिक तथा प्रवेश व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रमस्थल सजावटदेखि पाहुना स्वागत, पेय पदार्थ तथा पानी व्यवस्थापन, कलाकार तथा गुरुहरूको आवतजावत, आवश्यक सामग्री ओसारपसार लगायतका कार्यमा संस्थाका पूर्व अध्यक्षहरू, सल्लाहकार, उपाध्यक्ष तथा कार्यसमिति सदस्यहरू सक्रिय रूपमा खटिएका थिए ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिले विशेष आकर्षण थपेको थियो। सांस्कृतिक कार्यक्रम संयोजक नन्दराज गुरुङको व्यवस्थापनमा पूर्व आमा प्रमुख कमला गुरुङ, तारा गुरुङ, पूर्व कोषाध्यक्ष कमला गुरुङ, विष्णु गुरुङ, मनिता घले, श्रीमाया गुरुङ लगायतले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा नेपालबाट बेलायत भ्रमणमा रहेका वरिष्ठ गायक तथा तमु कलाकार संघ केन्द्रीय समितिका संस्थापक अध्यक्ष राजु गुरुङको विशेष प्रस्तुति रहेको थियो। त्यस्तै चर्चित गायिकाहरू शर्मिला गुरुङ र शोभा पाठकले पनि सांगीतिक प्रस्तुति दिएका थिए । कलाकारहरूको प्रस्तुतिले कार्यक्रममा सहभागीहरूलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।
कार्यक्रमको प्रत्यक्ष प्रसारणमा उपाध्यक्ष तथा डीबीसी यूके एवं ‘तमु मै ताँ’का प्रस्तोता मिमकाजी गुरुङले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। डिजे व्यवस्थापनमा सुभाष गुरुङ तथा सांस्कृतिक कार्यक्रम सञ्चालनमा अंशु गुरुङले सहयोग गरेका थिए ।
कार्यक्रमका क्रममा ज्येष्ठ अभिभावकहरूको सत्कार तथा सम्मान कार्यक्रमलाई व्यवस्थित बनाउन आमा समूहका निवर्तमान आमा प्रमुख बिन्दु गुरुङ, मनिता घले, बबिता गुरुङ, टिकसुपा गुरुङ, रूकमाया गुरुङ, बिजन गुरुङ लगायत आमा समूहका सदस्यहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
राफल ड्रका लागि लोकेश गुरुङ (पीपल मोर्गेज एडभाइजर), संस्थापक प्रमुख सल्लाहकार मोहन गुरुङ, बोलमाया गुरुङ तथा डीबीसी यूकेका अध्यक्ष चन्द्रप्रसाद गुरुङ लगायतले पुरस्कार प्रायोजन गरेका थिए। साथै सोपाल समाजका अध्यक्ष जगदिश गुरुङ र फर्स्ट लेडी सिमा गुरुङले कार्यक्रममा नगद £100 सहयोग गरेका थिए ।
कार्यक्रम सम्पन्न भएपछि अध्यक्ष शिवराम गुरुङ बीईएमले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्ण आजीवन सदस्य, कार्यसमिति पदाधिकारी, स्वयंसेवक, कलाकार, प्रायोजक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन् ।
उनले समाजप्रति माया र सद्भाव राख्दै कार्यक्रममा सहभागी हुने सम्पूर्ण आजीवन सदस्यहरूलाई धन्यवाद दिँदै विभिन्न कारणले यसपटक उपस्थित हुन नसकेका सदस्यहरूसँग आगामी वर्ष पुनः भेट हुने अपेक्षा व्यक्त गरेका छन् ।
दक्षिणपूर्व क्षेत्रीय तमुधिँ लण्डनको २४औँ आजीवन सदस्य रात्री भोजले संस्थाका सदस्यहरूबीच आपसी भेटघाट, सद्भाव, सामाजिक एकता र तमु सांस्कृतिक पहिचानलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ ।
