Search

दक्षिणपूर्व क्षेत्रीय तमुधी लण्डन (SERTD London) को दशौं कार्यसमितिको दोस्रो वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न l

दक्षिणपूर्व क्षेत्रीय तमुधी लण्डन (SERTD London) को दशौं कार्यसमितिको दोस्रो वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न l

१० मे २०२५, शनिबारका दिन दक्षिणपूर्व क्षेत्रीय तमुधी लण्डन (SERTD London) को दशौं कार्यसमितिको दोस्रो वार्षिक साधारण सभा तथा दशौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। St. Michael Community Hall, Welling मा सम्पन्न सो कार्यक्रममा कुल ८३ जना सदस्यहरूको सक्रिय सहभागिता रह्यो भने ७ जना सदस्यहरूले क्षमा याचना गरेका थिए। कार्यक्रमको अध्यक्षता श्री प्रेम कुमार गुरुङले गर्नुभएको थियो भने सञ्चालन सचिव कमल गुरुङले गर्नुभएको थियो। उपाध्यक्ष शिबराम गुरुङ B.E.M. ले स्वागत मन्तव्य दिनुभएको थियो। दीप प्रज्वलन संस्थापक अध्यक्ष तथा वर्तमान अध्यक्षद्वारा गरिएको थियो भने दिवंगत आत्माहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो  l

 

अधिवेशनमा विभिन्न पूर्व अध्यक्षहरू तथा अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। DBC UK अध्यक्ष तथा SERTD का Webmaster अशाेक गुरुङले पनि संस्थाको योगदानको प्रशंसा गर्दै विशेष सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा सचिव कमल गुरुङले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा विगत दुई वर्षमा संस्थाले सञ्चालन गरेका सामाजिक, सांस्कृतिक र सहयोगमूलक गतिविधिहरू समेटिएको थियो। विशेषगरी कोभिड महामारीको समयमा ज्येष्ठ नागरिकहरूलाई दिइएको सहयोग, आशिमला पत्रिका प्रकाशन तथा गुरुङ भाषा-संस्कृति संरक्षणको प्रयास उल्लेखनीय रहेको थियो। संस्थामा १५ नयाँ बैठकहरू मार्फत ४२० आजीवन सदस्यता विस्तार गरिएको र New Year Day Parade मा तेस्रो स्थान प्राप्त गरिएको उल्लेख गरिएको थियो ।

कोषाध्यक्ष सुबाश गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार संस्थाका दुई बैंक खातामा क्रमशः £28,681.83 र £39,942.99 रहेको र कुल मौज्दात £68,624.82 पुगेको थियो, जसलाई सभाबाट सर्वसम्मत अनुमोदन गरिएको थियो। महिला विभाग प्रमुख श्रीमती बिन्दु गुरुङले पनि विगत दुई वर्षको कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले एक वर्षका लागि कार्यकाल विस्तार गर्ने निर्णय गरेको थियो ।

संस्थाको विधानमा समेत केही महत्वपूर्ण संशोधनहरू पारित गरिएका थिए, जसमा वार्षिक कार्यक्रम क्यालेन्डर समावेश, मनार्थ सदस्यता नबढाउने, लाइफ मेम्बर पार्टी मा गैर-गुरुङहरूलाई नसमेट्ने, तथा अध्यक्षलाई £150 सम्म खर्च गर्ने अधिकार प्रदान गर्ने जस्ता विषयहरू समावेश थिए। यस्तै, ID कार्ड वितरण प्रगति अन्तर्गत २०० सदस्यलाई परिचयपत्र वितरण भइसकेको जानकारी दिइयो भने अघिल्लो समितिबाट बाँकी रहेको आर्थिक दायित्व अहिलेको समितिद्वारा भुक्तानी गर्ने निर्णय पनि गरियो  ।

अन्त्यमा, वर्तमान कार्यसमिति बिघटन गरिएपछि निर्वाचन प्रक्रियाबाट ११औं कार्यसमितिको चयन गरिएको थियो। निर्वाचन आयोगद्वारा सहमति प्रक्रियामार्फत नयाँ समिति घोषणा गरियो, जसअनुसार शिबराम गुरुङ B.E.M. अध्यक्षमा निर्वाचित हुनुभएको छ। नव निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र र खादा प्रदान गरियो र नव अध्यक्ष गुरुङले धन्यवाद ज्ञापन गर्दै भावी योजनाहरू प्रस्तुत गर्नुभयो। कार्यक्रममा अनुशासित व्यवस्थापन र सहभागीहरूको उत्साहपूर्ण उपस्थिति प्रशंसनीय रहेको थियो ।

 

कमल गुरुङ

सचिव

Related posts