Search

साउथ इष्ट रिजनल तमु धिं द्वारा गण्डकी अस्पताललाई स्वास्थ्य सामग्री |

जमुना वर्षा शर्मा पोखरा, १८ जेठ

पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई साउथ इष्ट रिजनल तमु धिं युकेले एक लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाका उपाध्यक्ष पार्वती गुरुङले आज प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्य र डीन डा. नरेन्द्रविक्रम गुरुङलाई एक लाख बराबरको सेनिटाइजर र मास्क हस्तान्तरण गर्नुभएको हो । “कोरोना सङ्क्रमण सँगै सङ्क्रमितको सङ्ख्या पनि बढिरहेको छ, स्वास्थ्य क्षेत्रको अग्रमोर्चामा रहेर काम गर्नेहरुका लागि सुरक्षा सामग्री अत्यावश्यक हुने गर्छ , हामी संस्थागत उत्तरदायित्व पूरा गर्दे एक लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरेका हौँ” संघका उपाध्यक्ष गुरुङले भन्नुभयो ।

उहाँले तमु धिं युकेले विपत्तीको समयमा सधैं नेपालमा सहयोग गर्दै आइरहेको र भूकम्पको बेला विभिन्न स्कुलहरुलाई १८ लाख नगद सहयोग गरेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा आवश्यकता र प्राथमिकताको आधारमा सामाजिक उत्तरदायित्व पुरा गर्दै संस्था अघि बढ्ने बताउनुभयो । अस्पतालका निर्देशक डा. आचार्यले कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेको अवस्थामा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीका लागि प्रदान गरिएको स्वास्थ्य सामग्री निकै उपयोगी हुने बताउँदै संस्थालाई प्रशंसा पत्र प्रदान गर्नुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्यहरु धनज्योती गुरुङ, हरिकाशी गुरुङ धर्मवती गुरुङ, धनु घले लगायतको उपस्थिति रहेको थियो ।

तस्बिर उपलब्ध छ ।

Related posts